१२ जेठ, काठमाडौं । नेपालमा सोमबार अपरान्ह सम्ममा थप ६ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिएका छन् ।
सेती अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार अछाम मेल्लेख गाउँपालिकाका ३२ बर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । अछाममा आज पहिलो पटक कोरोनाको संक्रमित भेटिएको हो ।
त्यस्तै भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार बर्दिया गुलरिया–१० का २२ र २४ बर्षीय पुरुष र बर्दिया गुलरिया–२ का १८ बर्षीय युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षण अनुसार पर्सा जिराभवानी गाउँपालिका–०४ का १८ बर्षीय पुरुष तथा काठमाडौं–१५ घर भएका बारा कलैयाकामा कार्यरत २८ बर्षीय पुरुषमा संक्रमण देखिएको छ ।
वीरगञ्जको नेशनल मेडिकल कलेजमा गत जेठ ४ गते मृत्यु भएका ७० बर्षीय वृद्धमा पनि कोरोनाको संक्रमण पुष्टि भएको छ ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या ६८२ पुगेको छ । संक्रमितमध्ये १०५ जना निको भएका छन् । ४ जना संक्रमितको ज्यान गएको छ । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् ।