१२ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट चौथो व्यक्तिको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
गत जेठ ४ गते वीरगञ्जको नेशनल मेडिकल कलेजमा बारा कलैया–०७ का ७० बर्षीय वृद्धको मृत्यु भएको थियो । जेठ २ गते अस्पतालको इर्मर्जेन्सीमा भर्ना गरिएका उनको कोरोना परीक्षणका लागि २ गते नै स्वाब नारायणी अस्पतालको ल्याब पठाइएको थियो ।
उनलाई क्षयरोग र श्वासप्रश्वासको दीर्घरोग रहेको मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले बताएका छन् । उनको कोरोना परीक्षणका लागि ३ गते स्वाब संकलन गरेर नारायणी अस्पताल पठाइएको र रिपार्ट शंकास्पद आएपछि थप परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्प प्रयोगशाला पठाइएको प्रवक्ता देवकोटाले बताएका छन् ।
साथै उनको सम्पर्कमा आएका सबै जनाको स्वाब जेठ ५ गते नै संकलन गरेर राष्ट्रिय जनस्वास्थ्प प्रयोगशाला पठाइएको र स्वाब संकलन गरिएकाहरुमध्ये यसअघि नै ६ जनाको संक्रमण पोजिटिभ आइसकेको पनि प्रवक्ता देवकोटाले बताएका छन् । उनको रिपोर्टमा भएको ढिलाईको सन्दर्भमा भने मन्त्रालयले केही उल्लेख गरेको छैन ।
यता नेशनल मेडिकल कलेजका निर्देशक अविद हुसेन अन्सारीले भने जेठ २ गते नै स्वाब नारायणी अस्पताल पठाएको र अस्पतालको ल्याबमा पटक पटक सम्पर्क गर्दा पनि प्रक्रियामा छ भन्ने जवाफ आएको बताएका छन् ।
जेठ ४ गते मृत्यु भएका वृद्धको अन्तिम संस्कार गरिसकिएको छ । मृत्यु भएपछि अस्पतालले उनको शव सामान्य मृतकको झैं परिवारलाई जिम्मा दिएको थियो । परिवारले शव गाउँमै लगेर अन्तिम संस्कार गरेको र मलामीमा ५० जना सहभागी भएको बताइएको छ ।
यससँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको सँख्या ४ पुगेको छ । यसअघि सिन्धुपाल्चोककी २९ बर्षीय सुत्केरी महिला, बाँकेका २५ बर्षीय युवक र गुल्मीका ४१ बर्षीय शिक्षकको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।