२३ जेठ, काठमाडौं । नेपालमा शुक्रबार नयाँ २७८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या २ हजार ९ सय १२ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २७८ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार सुर्खेत पञ्चपुरीका एक जना २८ बर्षीय पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी जेठ ८ गते भारतबाट आएर स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।
क्वारेन्टाइनमा रहँदासम्म कोरोनाको कुनैपनि लक्षण नदेखिएको र आरडिटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनी जेठ २२ गते घर गएका थिए । तर घर पुगेकै दिन उनको मृत्यु भएको थियो । मृत्यु भएपछि पिसिआर परीक्षण गरिएकोमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ११ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ३३३ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए । पछिल्लो २४ घण्टामा ४३ जना उपचारपछि डिस्चार्ज भएका छन् । धरानबाट ३ जना, कोशी अस्पतालबाट २७, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल र लायन्स डेन्टल अस्पताल बाँकेबाट १३ जना डिस्चार्ज भएका छन् ।
हालसम्म देशका ६८ जिल्लाहरुमा कोरोनाको भाइरसको संक्रमण फैलिएको छ ।