२ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता नेपाललाई कोभिड–१९ मुक्त देश बनाउनु भएको उल्लेख गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको सयुंक्त बैठकमा आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
सरकारले महामारीको रोकथामका लागि अपनाउनुपर्ने स्वास्थ्य सजगताका व्यवस्थाहरुको पालना गर्ने गराउने र संक्रमणको परीक्षणलाई व्यापक बनाउने कुरा उल्लेख छ । औषधी, उपकरण र चिकित्सकलगायतका स्वास्थ्यकर्मीहरुको पर्याप्त व्यवस्था तथा परिचालन गर्ने तथा यस महामारीबाट नेपालभित्र कुनैपनि व्यक्तिको ज्यान जाने अवस्था आउन नदिन सरकार दृढतापूर्वक लागेको उल्लेख गरिएको छ ।
सरकारले यस महामारीले मुलुकको सामाजिक–आर्थिकलगायत राष्ट्रिय जीवनका सबै क्षेत्रमा पारेको प्रभावको अध्ययन गरिरहेको र यस अध्ययनको आधारमा राज्यप्रणालीको प्रभावकारिता थप वृद्धि गरी सरकारले आन्तरिक आवागमन र आपूर्ति व्यवस्था सुचारु गर्ने, स्वास्थ्य र शिक्षा क्षेत्रमा गुणात्मक सुधार गर्ने, कृषि तथा औद्योगिक उत्पादन वृद्धि गर्ने र विकास निर्माण कार्यलाई तीब्रता दिने कार्यक्रमहरु कार्यान्वयन गर्ने भनेको छ ।
त्यस्तै कोभिड–१९ पछिको थप रणनीति र कार्ययोजना तयार गरी क्षेत्रगत विशेष कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा रहेको छ । महामारीका कारण रोजगारी गुमाएका श्रमिक, साना किसान, असहाय व्यक्ति, गरिब तथा विपन्न वर्गका परिवारलाई लक्षित गरी स्वास्थ्य, शिक्षा, सीप विकास तालिम र रोजगारी एवं आयआर्जनसम्बन्धी विशेष कार्यक्रम सञ्चालन गर्ने पनि सरकारको नीति रहेको छ ।
महामारी अनपेक्षित रुपमा लम्बिन गएको अवस्थामा सरकारले त्यसलाई रोक्न थप प्रभावकारी कदम चाल्दै कार्यक्रमहरुको पुनःप्राथमिकीकरण र समायोजनसमेत गरी स्रोत साधन परिचालन गर्ने नीति कार्यक्रममा उल्लेख छ । सरकारले महामारीसँग जुध्नुपरिरहेको विषम परिस्थितिमा पनि नेपाललाई समृद्ध बनाउने र सबै नेपालीलाई सुखी बनाउने राष्ट्रिय अभियानमा सरकार थप दृढताका साथ अघि बढ्ने संकल्प गरेको छ ।