Nepal's Trusted Health Online Portal

‘निरोगी नेपाल निर्माण’ सरकारको मूल स्वास्थ्य नीति

Get real time updates directly on you device, subscribe now.

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा ‘निरोगी नेपाल निर्माण’ लाई सरकारको मूल स्वास्थ्य नीतिको रुपमा अगाडी सारेको छ ।

प्रकृतिमैत्री स्वच्छ जीवनप्रणाली प्रवद्र्धन गरी नेपालीको रोग प्रतिरोधी क्षमता वृद्धि गर्न निरोधात्मक कार्यक्रम सञ्चालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै स्वास्थ्य सेवामा प्रतिरोधात्मक र उपचारात्मक विधि अवलम्बन गरिने भनिएको छ ।

सरकारले मुलुकभर ६ सय ७१ स्थानीय तहका वडाहरुमा पूर्णखोप सेवा उपलब्ध वडा घोषणा गरेकोछ । आगामी बर्ष बाँकी सबै स्थानीय तहका वडाहरुमा पूर्णखोप सेवा पु¥याउने उल्लेख गरेको छ ।

आधारभुत स्वास्थ्य सेवा उपलब्ध नभएका स्थानीय तहका थप २ हजार ६ सय २६ वडाहरुमा पूर्वाधार निर्माण र सेवा उपलब्ध गराइएको उल्लेख छ । सरकारले आगामी बर्ष स्थानीय तहका वडामा रहेका स्वास्थ्य संस्थाहरुको सेवाको गुणस्तर वृद्धि गरिने भनेको छ । भूगोल र जनसङ्ख्याको आधारमा हरेक स्थानीय तहमा ५ देखी १५ शय्याको जनरल अस्पतालमा स्तरोन्नति गरिने भनिएको छ ।

त्यस्तै प्रदेशमा रहेका साविकका जिल्ला अस्पतालहरुलाई २५ देखि ५० शय्याको अस्पताल र अञ्चल अस्पताललाई २ सय शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने भनिएको छ ।
सरकारले पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा कोशी, नारायणी, भरतपुर, भेरी र डडेल्धुरा अस्पतालबाट उपलब्ध विशिष्टीकृत स्वास्थ्य सेवाको विस्तार र स्तरोन्नति गरिरहेको उल्लेख गरेकोछ । यी केन्द्रीय अस्पताललाई ५ सय शय्याको अस्पतालको रुपमा उल्लेख गरिने भनिएको छ ।

सरुवा रोग रोकथाम, नियन्त्रण र उपचार एवं स्वास्थ्य विपद् व्यवस्थापनको तयारी तथा प्रतिकार्य गर्न प्रयोगशाला परीक्षण सेवासहितको ३ सय शय्याको केन्द्रीय र न्यूनतम ५० शय्याको प्रदेशस्तरीय अत्याधुनिक सुविधासम्पन्न सरुवा रोग अस्पताल स्थापना गरिने उल्लेख छ ।

गरिब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरुबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराइने नीति तथा कार्यक्रममा रहेको छ ।

त्यस्तै उच्च रक्तचाप, मधुमेह, क्यान्सर, दम, मृगौला, कलेजो र महिलाहरुको पाठेघर सम्बन्धी रोगको रोकथाम, पहिचान, परीक्षण र उपचारका कार्यक्रमहरु देशव्यापी रुपमा थप प्रभावकारी बनाइने उल्लेख गरिएको छ ।

वडास्तरीय सेवा केन्द्रबाट ४० बर्ष माथीका नागरिकको रक्तचाप, अबलुनिम र मधुमेह जाँच गर्ने व्यवस्था गरिनेछ भनिएको छ ।

आयूर्वेद, युनानी, होमियोप्याथी एवं प्राकृतिक चिकित्सा प्रणालीको विस्तार र प्रवद्र्धन गरिने र आम नागरिकलाई योगाभ्यास र शारीरिक व्यायाम सहितको जीवन पद्धति अपनाउन प्रेरित गरिने नीति कार्यक्रममा रहेको छ । सरकारले स्थानीय तहका वडाहरुमा व्यायामशाला, आरोग्य केन्द्र र योग केन्द्रहरु स्थापना गर्न प्रोत्साहन गर्ने भनेको छ ।

सरकारले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कलेजो प्रत्यारोपण सेवा प्रारम्भ भएको जनाउँदै आगामी आर्थिक बर्षमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिने र यी सेवालाई प्रदेशमा पनि विस्तार गर्दै लाने उल्लेख गरेको छ ।

त्यस्तै कान्ति बाल अस्पताललाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विस्तार गरिने नीति कार्यक्रममा भनिएको छ ।

सरकारले मनमोहन कार्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर र सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा बाल मुुटुरोगको पहिचान, परीक्षण र उपचार गर्ने संस्थागत व्यवस्था गरिने उल्लेख गरेको छ ।

परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको सेवालाई थप विशिष्टीकृत गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारले सबै मेडिकल कलेजहरुले जिल्लास्थित कम्तीमा एक अस्पतालमा शल्य चिकित्सासहितको सेवा दिनुपर्ने र सबै स्वास्थ्य संस्थाहरुले महिनाको एक दिन स्याटेलाइट क्लिनिक सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाइने भनेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.