३ जेठ, काठमाडौं । नेपालमा शनिबार बिहान थप ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बर्दियाका १, सिराहका १, पर्साका २, सर्लाहीका १ र चितवनका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ संक्रमितहरुमा बर्दिया जिल्ला नार्खु–११ निवासी २८ बर्षीय महिला, सिराहा जिल्ला सखुवा– १९, निवासी ३० बर्षीय पुरुष, पर्सा जिल्ला वीरगञ्ज–१२ निवासी २८ र २९ बर्षीय पुरुषहरु, सर्लाही जिल्ला रामनगर–४ निवासी १८ बर्षीय युवती र चितवन जिल्ला गढौली–०१ निवासी २५ बर्षीय महिला रहेका छन् । बर्दियामा आज पहिलो पटक कोरोना संक्रमित फेला परेको हो ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २७३ पुगेको छ । संक्रमितहरुमध्ये ३६ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।