२ भदौ । काठमाडौं उपत्यकामा बुधबार मध्यराति देखि लागु हुने गरी निषेधाज्ञा जारी हुने भएको छ ।
सुरक्षा निकायसहित उपत्यका भित्रका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सरकारलाई भदौ ३ गते बुधबार राति १२ बजेदेखि एक हप्ताका लागि निषेधाज्ञा जारी गर्न राय पठाउने निर्णय गरेको एक सुरक्षा अधिकारीले जानकारी दिए ।
पछिल्ला दिनहरुमा उपत्यकाभित्र दिन प्रतिदिन कोरोना संक्रमितहरुको संख्या बढ्न थालेपछि निषेधाज्ञा जारी गर्न लागिएको हो । उपत्यकामा मंगलबार मात्र २०५ जनामा कोरोना संक्रमण भएको छ ।
निषेधाज्ञा अवधीमा अत्यावश्यक सेवाका बाहेक कुनै पनि सरकारी, निजी तथा गैरसरकारी कार्यालय तथा सवारी संचालन गर्न पाइने छैन ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवाका सवारी बाहेक अन्यलाई रोक हुनेछ भने सर्वसाधारणको आवतजावत निषेध गरिनेछ ।