२२ चैत, काठमाडौं । सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप लगाउने भएको छ ।
चैत २५ गतेबाट सञ्चालन हुने राष्ट्रिय खोप अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिइने परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले जानकारी दिए ।
बालबालिकालाई टाइफाइडको जोखिम कम गर्ने उद्देश्यले दिन लागिएको खोप अभियानमा देशभरका करिब ७५ लाख बालबालिकालाई खोप अभियानमा समेट्ने सरकारको लक्ष्य रहेको दाहालले बताए ।
दाहालका अनुसार नेपाल टाइफाइड सङ्क्रमणको जोखिमको वर्गीकरणमा परेकोले नीतिगत निर्णय गरेर टाइफाइडविरुद्धको खोप अभियान सुरु गर्न लागिएको हो ।
नेपालमा पहिलो पटक बालबालिकाहरुलाई टाइफाइडविरुद्धको खोप दिन लागिएको हो । खोप अभियानसँगै अब देखि १५ महिना पुगेका बालबालिकालाई नियमित रुपमा टाइफाइडविरुद्धको खोप दिइनेछ ।
सरकारले चैत २५ देखि सुरु हुन लागेको खोप अभियानका क्रममा टाइफाइडविरुद्धको कन्जुगेट भ्याक्सिन दिँदैछ ।
एक मात्रा डोज लगाए पुग्ने कन्जुगेट भ्याक्सिनको प्रभावकारिता ९६.९६ प्रतिशत रहेको अध्ययनहरुले देखाएको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख दाहालले बताए ।
नेपालमा टाइफाइडका बिरामीमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समुहका बालबालिका रहेका छन् ।
ग्लोबल बर्डन अफ डिजिज २०१९ को तथ्याङ्क अनुसार नेपालमा ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेको अनुमान गरिएको हो ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अनुसार नेपालमा १ लाख जनसङ्ख्यामा १ हजार ६२ जनामा टाइफाइड सङ्क्रमण देखिएको छ ।
विश्व स्वास्थ्य सङ्गठनले प्रति १ लाख जनसङ्ख्यामा १ सय जना बिरामी भएमा त्यस्तो अवस्थालाई उच्च टाइफाइडको जोखिम भनेर वर्गीकरण गरेको छ ।