१० असार, काठमाडौं । नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले पहिलो मात्रा एष्ट्राजेनेका (कोभिसिल्ड) लगाएका व्यक्तिहरुले दोस्रो मात्रा भेरोसेल खोप लगाउँदा अझै बढी प्रभावकारी हुन्छ भनी विश्व स्वास्थ्य संगठनले स्वीकृत गरेको भन्ने समाचार गलत भएको स्पष्ट पारेको छ ।
विश्व स्वास्थ्य संगठनले यस किसिमको कुनै पनि प्रकारको बयान जारी नगरेको र यो झुठो आरोप रहेको भन्दै नेपालस्थित विश्व स्वास्थ्य संगठनको कार्यालयले विज्ञप्ति जारी गरको हो ।
विज्ञप्तिमा यस किसिमका गलत सूचनाले जनताको स्वास्थ्यमा गम्भीर परिणाम निम्त्याउन सक्ने पनि उल्लेख छ । दोस्रो मात्रामा भेरोसेल खोप लगाउन मिल्छ भन्ने पर्याप्त वैज्ञानिक प्रमाण नभएको पनि डब्ल्यूएचओले जनाएको छ ।
‘दुई भिन्न किसिमका खोप लगाउँदाको प्रभावकारिताबारे सीमित तथ्याङ्क मात्र उपलब्ध छन्,’ विज्ञप्तिमा भनिएको छ ‘भिन्न किसिमका खोपका प्रभावकारिताको विषयमा अध्ययनहरु भइरहेका छन् र दोस्रो मात्रामा एष्ट्राजेनेका (कोभिसिल्ड) खोपको साटो भेरोसेल खोप लगाउन मिल्छ भन्ने निष्कर्षमा पुग्नका लागि पर्याप्त वैज्ञानिक प्रमाण आवश्यक छ ।’