Nepal's Trusted Health Online Portal

शक्तिशाली राष्ट्रहरुपनि आज यो प्राकृतिक महामारीको अगाडी घुँडा टेक्न विवस छन्

Get real time updates directly on you device, subscribe now.

                                                                             रमा अधिकारी

“नयाँ बर्ष २०७७ ।” बाह्र महिनाको चक्रपछी हरेक बर्ष फेरिने यो साल। नयाँ बर्ष आफैंमा नयाँ भएर आउने होइन। यसले हरेक मानिसमा नयाँ उमङ्ग, जोश जाँगर, नयाँ सोच, नयाँ उर्जा तथा नयाँ परिवर्तन लिएर आउँछ। नयाँ बर्ष एउटा नविनता लिएर हाम्रो जीवनमा प्रवेश गर्छ। त्यसैले त हामी नयाँ बर्षलाई आफ्ना निकटतम व्यक्तिहरुसंग शुभकामना आदनप्रदान गर्दै हर्षोल्लासका साथ स्वागत गर्छौं । तर यसपटकको नयाँ बर्ष भने हाम्रो सामु फरक रूपमा आएको छ। अहिले मानिसमा न कुनै उमङ्ग छ, न त कुनै खुशियाली छन्,  छ त केवल एउटा अदृश्य शक्तिको डर र त्रास जसलाइ नोवेल कोभिड १९ नामकरण गरिएको छ। यो अदृश्य जीवाणुले अहिले हाम्रो भोक, निद्रा, खुशी अर्थात समग्रमा भनौं हाम्रो सम्पूर्ण मानव आधिकार नै खोसेको अवस्था छ। मानिसहरु आफ्नो दिनचर्या छोडेर आफ्नो घरमा बन्दाबन्दीको अवस्थामा बस्न बाध्य छन्। ‘कहाँ बाट आयो यो ?’ ‘के हो यो ?’ र  ‘यसलाई कसरी निर्मुल पार्न सकिन्छ? ‘ भन्ने कुराको जवाफ अहिले कसैसंग पनि छैन। अर्थतन्त्र र विज्ञानको क्षेत्रमा शक्तिशाली बनेका राष्ट्रहरुपनि अहिले रनभुल्लमा छन्, लाचार छन् अनी आक्रान्त छन्। हजारौंको संख्यामा मानिसहरु मरिरहेका छन् । तर यसको विरुद्धमा कुनै अस्त्रको आविस्कार हुन सकेको छैन।

ठुला-ठुला आणविक हतियारहरु निर्माण गरेर पलभरमै पृथ्वीलाई ध्वस्त गर्न सक्ने तागत राखेर प्रकृतिलाई चुनौती दिन तम्सेका शक्तिशाली राष्ट्रहरुपनि आज यो प्राकृतिक महामारीको अगाडी घुँडा टेक्न विवस छन् ।

धन र शक्तिको घमण्डले चुर भएका जल्दाबल्दा शासकहरु आज आफ्ना हजारौँ जनताको मृत्युको चित्कार सुनेर पनि मुकदर्शक बनेर बस्नेबाहेक उनीहरुसँग अरु कुनै विकल्प छैन । विश्वका महान वैज्ञानिकहरु अन्तरिक्षको अध्ययनमा लागेका छन् । विश्व ध्वस्त पार्ने अस्त्रहरुको निर्माणमा अहोरात्र खटिएका छन् । तर आज आफ्नै जीवनरक्षाको अस्त्र पत्ता लगाउन नसकेर उपचारको अभावमा पूरा विश्व मृत्युको मुखतिर धकेलिँदै छ । सायद अझै पनि हाम्रो मानव जाति सृष्टिको सबैभन्दा बुद्धिमानी विवेकी र उत्कृष्ट रचना तर लाग्छ हामी पशुभन्दा पनि विवेकहिन भएका छौँ । यस अर्थमा कि हामीले आफ्नो अस्तित्व भुलेर आफ्नो वास्तविक धरातललाई छोडेर माथि उड्न खोज्दैछौँ । हामी एक प्राकृतिक सजिव वस्तु हौँ भन्ने कुरालाई पूर्ण रुपमा भुलेर मानवनिर्मित अप्राकृतिक वस्तुहरुमा रम्न थाल्यौँ । आफुले हासिल गरेका उपलब्धिहरुमा गौरवान्वित भैरहँदा हामीले यो भुल्यौँ कि हामी ढुंगे युगबाट फड्को मार्दै आज यस एक्काइसौँ शताब्दीको वैज्ञानिक युगमा आइपुग्दासम्म पनि हाम्रा आधारभूत आवश्यकताहरु हावा, पानी, वासस्थान र खाना, यी चार चीजका लागि हामी अझै पनि प्रकृतिमा नै निर्भर छौँ । हामीले जतिसुकै प्रकृतिलाई उछिनेर अगाडी बढेतापनि हामीलाई बाँच्नको लागि प्रकृति नै चाहिन्छ । यो यथार्थ हो ।

जब हामी सास फेर्ने हावा, पिउने पानी तथा बस्ने र खाना उब्जाउने जमिनको लागि प्रकृतिकै मुख ताक्नुपर्छ भने हामीले त्यही प्रकृतिसंग कसरी जोरी खोज्न सक्छौँ । मानिस बाहेक अन्य सम्पूर्ण सजीव प्राणीहरुले प्रकृतिको नियममा रहेर वातावरणलाई सन्तुलनमा राख्न ठूलो योगदान पुर्याइरहेको परिप्रेक्षमा हामी विवेकशील प्राणी भने आफ्नै कारणले आफ्नो वासस्थान र हामी बस्ने वातावरणलाई दिनानुदिन प्रदुषित बनाइरहेका छौँ । यही प्रदुषणले गर्दा आज प्रकृतिको चक्र नै खलबलाएको छ । भूमण्डलिय उष्मीकरण हरेक क्षेत्रमा नकारात्मक प्रभाव पारिरहेको छ । यही प्रदुषणको कारणले नै गर्दा वर्तमान समयमा हामीले पटकपटक यस्ता भाइरसरुपी महामारीको सामना गरिरहनु परेको छ । कहिले इबोला त कहिले सार्स कहिले स्वाइन फ्लु त कहिले डेंगु । जति समय बित्दै गयो उति नै बढी शक्तिशाली भाइरसहरुको जम्न भइरहेको क्रममा आज आएर यो विश्व नै हल्लाउने नोवेल कोरोना भाइरसको जन्म भएको छ । महिनौ भइसक्यो लाखौ मानिसको ज्यान गइसक्यो तैपनि यसले हाम्रो पिछा छोडेको छैन । यो हाम्रो नियन्त्रण बाहिर छ । छाती फुलाएर यो संग लड्ने तागत न त कुनै चिकित्सा शास्त्रमा छ न त कुनै विज्ञान शास्त्रमा छ । हामीले ठूलाठूला उपलब्धी हासिल गरेका छौँ भनेर ठोकुवा गर्ने मावनजातीले खै त किन आज यति सुक्ष्म जीवाणुसंग परास्त हुनु पर्यो त ? अहिले यो संग लुकामारी खेलेर एउटा कोठामा बन्दी भएर बस्नुबाहेक हामीसंग अरु कुनै उपाय छैन ।

मानवजातीले विकासको संज्ञा दिएको गतिविधिले आज आफ्नै वासस्थानको अर्थात् यो पृथ्वीको विनाश गरिरहेको छ। अहिले पनि ढिलो भएको छैन। हे महामानव हो १ यदि आफ्नो सहि-सलामति चाहन्छौ भने प्रकृतिप्रेमी बन्न सिक । प्रकृतिमा हुर्क । प्रकृतिमा खेल । प्रकृतिमा श्रम गर । प्रकृतिले दिएको माटोमा उब्जिएको स्वस्थकर खाना खाऊ ।

प्राकृतिक जडिबुटीको महत्व बुझ । प्रकृतिलाई सुन्दर, स्वच्छ र स्वस्थ राख । आफ्नो रोग प्रतिरक्षा क्षमता बढाऊ र यस्ता भाइरसरूपी शत्रुहरुलाई आफ्नो आत्मबलले परास्त गर्दै जाऊ । जय प्रकृति । जय नेपाल ।

रमा अधिकारी

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.