२७ साउन, दोलखा । दोलखाको गौरीशंकर गाउँपालिकाका २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमित हुनेमा गौरीशंकर गाउँपालिका अन्तर्गत प्राथमिक स्वास्थ्य केन्द्र सुरीका एक स्वास्थ्यकर्मी र गाउँपालिकाको वडा नं ६ का ३१ बर्षीय एक पुरुष रहेका छन् ।
गाउँपालिकाका अनुसार साउन २५ गते ७ जना पुरुषको स्वाब संकलन गरी परीक्षणको लागी धुलिखेल अस्पताल पठाइएकोमा एक स्वास्थ्यकर्मीसहित २ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको हो ।
संक्रमितमध्ये प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी केही दिनअघि मात्र काठमाडौँ गएर फर्किएका थिए भने गाउँपालिका वडा नं. ६ स्थायी घर भएका अर्का संक्रमित बैदेशिक रोजगारीमा गई दुवईबाट फर्किएका थिए ।
दुई जनामा कोरोना संक्रमण देखिएपछि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र सिल गरेको छ । त्यस्तै अर्को सूचना जारी नहुन्जेलसम्म गौरीशंकर गाउँपालिका कार्यालय र ५ नं. वडा कार्यालयमा अतिआवश्यक सेवा बाहेकको अन्य सबै सेवा बन्द गरिएको छ ।
बुधबार जिल्ला स्वास्थ्य कार्यालय दोलखाबाट स्वास्थ्यकर्मी आएर गाउँपालिकाको जनप्रतिनिधी, कर्मचारी, प्राथमिक स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मीलगायत संक्रमितको सम्पर्कमा आएका सबैको स्वाब संककन गरी पिसिआर परीक्षणको लागी पठाउने निर्णय गरिएको गौरीशंकर गाउँपालिकाले जनाएको छ ।
मंगलबार मुलुकभरी ६३८ जना कोरोना संक्रमित थपिएका छन् भने हालसम्म १८३ स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
