१९ भदौ, काठमाडौं । नेपालमा शुक्रबार थप १ हजार ३ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ सय ६४ महिला र ८ सय ९५ पुरुष रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ जनाको पिसिआर परीक्षण गर्दा जनाको रिपोर्ट पोजिटिभ आएको हो । नेपालमा कोरोना संक्रमण सुरु भए यताकै सबै भन्दा बढीमा कोरोना पोजिटिभ देखिएको हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या संख्या ४४ हजार २ सय ३६ पुगेको छ । नेपालमा हाल १८ हजार ७ सय ४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५४ जना संक्रमितहरु उपचारपछि डिस्चार्ज भएका छन् । हालसम्म २४ हजार ५ सय ६१ जना निको भएका छन् । कोरोना संक्रमण मुक्त हुनेको दर ५८ प्रतिशत रहेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल ६ हजार ५ सय ६१ जना क्वारेन्टिनमा रहेका छन् भने १० हजार ९ सय ४२ जना आइसोलेसनमा रहेका छन् । त्यस्तै ७ हजार ४ सय ६२ जना होम आइसोलेसनमा रहेका छन् ।
हाल १५१ जना कोरोना संक्रमितहरु आइसियुमा उपचाररत छन् । भने २६ जना भेन्टिलेटरमा उपचाररत छन् । बागमती प्रदेशमा मात्रै ९० जना आइसियुमा र १९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार सोलुखुम्बु, ताप्लेजुङ, मुस्ताङ, डोल्पा, मुगु र हुम्ला जिल्ला संक्रमण मुक्त भएका छन् ।
गत २४ घण्टामा १४ जना कोरोना संक्रमितको ज्यान गएको छ जसमध्ये ४ जना महिला र १० जना पुरुष रहेका छन् ।