१८ वैशाख, काठमाडौँ । वीरगञ्जमा २८० जनाको पिसीआर परीक्षण गर्दा १९३ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
वीरगञ्जको नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा झण्डै ६९ प्रतिशतको पिसीआर रिपोर्ट पोजिटिभ आएको हो ।
शुक्रबार रातीसम्म अस्पतालको प्रयोगशालामा गरिएका परीक्षणको रिपोर्ट शनिबार बिहान सार्वजनिक गरिएको हो ।
पोजिटिभ रिपोर्ट आएकाहरुमा पर्सा जिल्लाका १५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनका २, धनुषा, बर्दिया र नवलपरासीका १/१ जना रहेका छन् ।
संक्रमितहरुमा १३६ जना पुरुष तथा ५७ जना महिला रहेका छन् । संक्रमित सबैको स्वाब वीरगञ्जमा नै संकलन गरिएको अस्पतालले जनाएको छ ।
अस्पतालको प्रयोगशालामा ८ दिनको अवधीमा भएको १ हजार ६२५ नमुना परीक्षणमा १ हजार १२ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
संक्रमितहरुको संक्रमण सार्न सक्ने सिटी भ्यालु १३.१ देखि ३४.१ सम्म रहेको अस्पतालले जनाएको छ । सामान्यतः सिटी भ्यालु २९ देखि माथि भएमा संक्रमितबाट अर्को व्यक्तिमा संक्रमण छिटो नसर्ने विज्ञहरुको भनाई छ ।
वीरगञ्जका विभिन्न अस्पतालमा गरी हाल ८१ जना संक्रमितहरु उपचारत रहेका छन् ।