३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकामा स्थगित भएको खोप कार्यक्रम पुनः सुचारु हुने भएको छ ।
बागमती प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले सूचना प्रकाशन गरेर खोप कार्यक्रम पुनः सञ्चालन हुने जनाएको हो ।
गत जेठ २५ गतेबाट चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप ६० देखी ६४ वर्ष उमेरका नागरिकलाई दिइएको थियो । पर्याप्त खोप उपलब्ध नभएपछि काठमाडौंमा खोप अभियान स्थगित गरिएकोमा खोपको व्यवस्थापनपछि पुनः सुचारु गर्न लागिएको हो ।
भोली देखी पुनः सञ्चालन हुन लागेको भेरोसेल खोप भोली सोमबार र पर्सी मंगलबार मात्र सञ्चालन हुनेछ ।
वीर अस्पताल रत्नपार्क, त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज, विरेन्द्र सैनिक अस्पताल छाउनी र निजामति कर्मचारी अस्पताल बानेश्वरमा खोप लगाइने छ ।
खोप कार्यक्रममा काठमाडौं महानगर भित्रका ६० देखी ६१ वर्ष उमेर समुहका व्यक्तिहरु, यसअघि भेरोसेल खोप लगाएकाहरु तथा स्वास्थ्यकर्मीहरु जान सक्नेछन् ।
सबै खोप केन्द्रहरुमा बिहान १० देखी ४ बजेसम्म खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ ।
