३ फागुन, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप अभिलेखबारे अध्ययन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गठन गरेको समितिले खोप अभियानमा गम्भीर लापरवाही भएको निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा पैसा लिई खोप लगाएको, खोपको उचित रुपमा भण्डारण नगरेको कारणले धेरै खोप प्रयोग गर्न नमिल्ने भएको उल्लेख छ ।
छानबिन समितिले खोप अभियान सञ्चालनका क्रममा लापरवाही गर्ने निकायबारे सत्य तथ्य छानबिन गरी कारबाही सिफारिस गर्न अधिकार सम्पन्न समिति गठन गर्न सुझाव दिएको छ ।
२४ लाख डोज खोप हराएको सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले सोमबार मात्रै स्वास्थ्य तथा जनसंख्यामन्त्रि विरोध खतिवडालाई छानबिन प्रतिवेदन बुझाएको थियो ।
छानबिन समितिमा प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा.अभियान गौतम र सदस्य सचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा.गुणनिधि शर्मा छन् ।