३१ बैशाख, काठमाडौं । नेपालमा बुधबार साँझ एकैपटक थप २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही, कपिलवस्तु, पर्सा र नवलपरासी जिल्लाका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा रुपन्देही जिल्ला निवासी २२, २२, २५, २८, ३०, ३२, ३३ र ४१ बर्षीय पुरुषहरु तथा ४, १० र २८ बर्षीय महिलाहरु, कपिलवस्तु जिल्ला निवासी २२, २९, ३२, ४०, ४०, ४०, ४२, ४२ बर्षीय पुरुषहरु, पर्सा जिल्ला निवासी ३६ र ७४ बर्षीय पुरुषहरु तथा ३६ बर्षीय महिला र नवलपरासी जिल्ला निवासी ३६ बर्षीय पुरुष रहेका छन् । नवलपरासी जिल्लामा पहिलो पटक कोरोना संक्रमित भेटिएको हो ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र रुपन्देहीको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै बुधबार एकैदिन २६ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि बुधबार दिउँसो २ जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २४३ पुगेको छ । संक्रमितहरुमध्ये ३५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
