२२ असार, काठमाडौँ । कोरोना संक्रमणका कारण विदेशमा थप १३ नेपालीको पछिल्लो एक हप्तामा मृत्यु भएको गैरआवासीय नेपाली संघको तथ्याङ्कले देखाएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितले राखेको तथ्याङ्क अनुसार गत साता संयुक्त अरब इमिरेट्स (युएई)मा ६, भारतमा ५, ओमान र कुवेतमा १/१ नेपालीको मृत्यु भएको हो ।
एनआरएनको स्वास्थ्य समितिले राखेको रेकर्ड अनुसार अहिलेसम्म विश्वका १४ विभिन्न देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ ।
एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको दर न्यून हुँदै गएको छ । शनिबार साँझसम्म विदेशमा २८ हजार ९१८ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने २५ हजार २२६ गैरआवासीय नेपाली कोरोना मुक्त भएका छन् ।
एनआरएनएका अनुसार हालसम्म विश्वभर ३७ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट प्रभावित भएका छन् । उद्धार जारी यसैबीच कोरोना भाइरसका कारणले विश्वव्यापी लकडाउन सुरु भएपछि विभिन्न देशमा रोकिएका नेपालीको उद्धारको कामले तीव्रता पाएको छ । एनआरएनए र विदेशस्थित नेपाली कूटनीतिक नियोगको संयुक्त पहलबाट एक महिनाको अवधिमा २१ देशमा रहेका १८ हजार २९३ नेपालीको उद्धार गरिएको छ ।
अफगानिस्तान, अष्ट्रेलिया, ओमान, कतार, म्यान्मा, कुवेत, जापान, थाइल्यान्ड, दक्षिण कोरिया, बङ्गलादेश, मलेसिया, माल्दिभ्स, श्रीलङ्का, युएई, साउदी अरब, सिङ्गापुर, हङकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायत मुलुकमा रहेका नेपाली स्वदेश फर्किएको सङ्घको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए ।