२१ असार, काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ढलको पानीबाट कोरोना नसर्ने भन्दै नागरिकहरुलाई नआत्तिन र नडराउन आव्हान गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले फोहोर पानी ढल प्रणालीबाट कोरोना भाइरसको संक्रमण भएको प्रमाण फेला नपरेको बताएका छन् ।
तर अन्य संक्रमणको संम्भाव्यतालाई समेत मध्यनजर गरी फोहोर पानीको उचित प्रशोधन र व्यवस्थापन हुनु आवश्यक छ । ढलको पानीमा आधारित इपिडियोमोलोजी विधिले ढलको माध्यमबाट मानिसमा कोरोना भाइरस फैलिने नभई सो पानीमा जीवाणु वा विषाणुको मात्रा पहिचान गरी त्यसका आधारमा समुदायमा संक्रमणको अवस्था बुझ्न सकिने यसप्रकारको अध्ययनलाई पूरक विधि मान्न सकिने प्रवक्ता गौतमले बताएका छन् ।
गौतमले हाल के कस्ता भाइरस भेटिएका हुन् त्यसको आधिकारिकताको थप अध्ययन नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गर्ने पनि उल्लेख गरेका छन् । ढलको पानीमा भाइरस देखियो भन्दैमा नआत्तिन र नडराउन पनि मन्त्रालयले आग्रह गरेको छ ।
कोरोना भाइरस सर्न सक्ने दुई माध्यम श्वासप्रश्वासको माध्यमबाट संक्रमित व्यक्तिले हाछ्यूँ गर्दा वा खोक्दा निस्कने छिटाको माध्यमबाट अर्को व्यक्तिमा सर्न सक्ने तथा संक्रमित व्यक्तिको हातले छोएको कुनैपनि सतहमा भाइरस केही घण्टा देखि केही दिनसम्म जिवित रहन सक्ने हुँदा त्यस्ता सतहमा छोएको हातले नाक, मुख वा आँखामा छोएमा कोरोना सर्ने भन्दै सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।