२९ असार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा हालसम्मकै सबैभन्दा बढी १ हजार ७०५ जना कोरोना संक्रमित निको भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
सोमबारको नियमित कोरोना अपडेटमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले १ हजार ७०५ जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिएका छन् ।
योसँगै नेपालमा अहिलेसम्म १० हजार २९४ जना कोरोना संक्रमित निको भएर घर फर्किइसकेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार कुल संक्रमितमध्ये हालसम्म ६०.७ प्रतिशत संक्रमण मुक्त भएका हुन् ।
अहिले नेपालभर ६ हजार ६१३ कोरोनाको एक्टिभ केश रहेको छ । सोमबार ५ हजार ८५६ जनाको पिसिआर परीक्षण गर्दा १४४ जनाको पोजिटिभ रिपोर्ट आएको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २३ हजार ४७० जना क्वारेन्टिनमा रहेका छन् ।