रासस, हेटौँडा, जेठ ३१ गते । वाग्मती प्रदेशमा शुक्रबार एक दिनमै ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमितको सङ्ख्या १८४ पुगेको छ ।
वाग्मती प्रदेशको धादिङमा २९, चितवनमा आठ, नुवाकोट र काठमाडौँमा एक–एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको वाग्मती प्रदेशका सामाजिक विकास मन्त्रालय कोरोना विभागका प्रमुख डा. पुरुषोत्तम सेढाईँले जानकारी दिनुभयो ।
उहाँका अनुसार वाग्मती प्रदेशका कोरोना सङ्क्रमितमध्ये ४३ उपचारपछि घर फर्किएका छन् । प्रदेशमा देशको कूल सङ्क्रमणको करिब चार प्रतिशत (३.६५) सङ्क्रमण छ ।
वाग्मती प्रदेशमा कोरोनाका कारण चार जनाले ज्यान गुमाउनुपरेको छ । हालसम्म नेपालमा पाँच हजार ६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने यस भाइरसका कारण १६ जनाको मृत्यु भएको छ ।