२१ साउन, काठमाडौं । पर्साका थप २ जना कोरोना संक्रमितको ज्यान गएको पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पर्साको पोखरिया नगरपालिका–०९ की १८ बर्षीय युवतीकोे मृत्यु भएको छ । झाडा पखालाले सिकिस्त भएपछि उनलाई साउन १९ गते विरगञ्जको नेशनल मेडिकल कलेज लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो । मृत्यु पश्चात गरिएको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यस्तै पर्सा विरगञ्ज महानगरपालिकाका ४६ बर्षीय पुरुषको पनि कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । उनको साउन २१ गते बिहान अस्थायी कोभिड अस्पतालमा मृत्यु भएको हो । विगत केही बर्ष देखि मधुमेहका रोगी उनी ज्वरो आउने र खोकी लाग्ने समस्या भएपछि अस्पताल भर्ना भएका थिए । साउन १९ गते गरिएको कोरोना परीक्षणमा कोरोना पुष्टि भएपछि उनलाई साउन २० गते नै आइसोलेसनमा भर्ना गरिएको थियो ।
योसँगै नेपालमा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २१ हजार ३९० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १५ हजार १५६ (७०.८ प्रतिशत) संक्रमण मुक्त भएका छन् ।