२१ साउन, काठमाडौं । काठमाडौँ उपत्यकामा बुधबार पनि ६२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यसअघि उपत्यकामा मंगलबार पनि ६२ जना नै संक्रमित थपिएका थिए ।
उपत्यकाको काठमाडौँ जिल्लामा ५७ र ललितपुरमा ५ जना गरी ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
बुधबार मुलुकभरी थपिएका ३८१ कोरोना संक्रमितमध्ये काठमाडौँ उपत्यकामा ६२ जना रहेका छन् । बुधबार उपत्यकाको भक्तपुरमा भने कोरोनाको संक्रमण देखिएन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा काठमाडौँका २७ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका १ र काठमाडौँको १४ जना, पाटन अस्पताल ललितपुरको प्रयोगशालामा भएको परीक्षणमा ललितपुरका २ र काठमाडौँको २ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जना, नेपाल प्रहरी अस्पताल महाराजगञ्जको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौंका ११ जना, स्टार अस्पताल सानेपाको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ र ललितपुरका २ जना, बिआइडिएच ल्याब काठमाडौँको प्रयोगशालामा भएको परीक्षणमा काठमाडौँका १ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै उपत्यका भित्र कोरोना संक्रमित ७८९ जना पुगेका छन् । काठमाडौँमा ५९८, ललितपुरमा ११४ र भक्तपुरमा ७७ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।