२० असार, काठमाडौं । नेपालमा शनिबार थप २३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । अन्य दिनहरुको तुलनामा शनिबार थपिएका संक्रमितहरुको संख्या कम हो ।
योसँगै नेपालभर कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिएका छन् ।
४ हजार ५० जनाको कोरोना परीक्षण
स्वास्थ्य मन्त्रालयका अनुसार विगत २४ घण्टामा २३ ओटा प्रयोगशालाबाट ४ हजार ५० जनाको पिसिआर विधीबाट कोरोना भाइरसको परीक्षणको भएको छ ।
सार्क देशहरुमध्ये कोरोना परीक्षण दर प्रति दश लाख जनसङ्ख्यामा अफगानिस्तान, पाकिस्तान, भारत, श्रीलङ्का र बङ्लादेशभन्दा नेपाल अगाडी रहेको छ ।
त्यस्तै ३३ हजार १२५ जना क्वारेन्टाइनमा रहेका छन् भने ९ हजार ४२ जना संक्रमितहरु आइसोलेसनमा रहेका छन् ।
दुईको मृत्यु
गोरखा पालुङ्टार न.पा.–०७ ठेगाना भएका ४४ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । मधुमेहका दिर्घ रोगी उनलाई निमोनिया भएपछि असार १९ गते गोरखा अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो । उनको गोरखा अस्पतालमा आज बिहान ५ बजे मृत्यु भएको हो । उनको १८ गते स्वाब संकलन गरी परीक्षण गरिएकोमा १९ गते हिँजो नै कोरोना पुष्टि भएको थियो । असार १७ गते मात्र कतारबाट नेपाल फर्किएका उनी गोरखाको पालुङ्टार क्वारेन्टिनमा बसेका थिए ।
त्यस्तै रुपन्देही देवदह न.पा. ठेगाना भएका ७५ बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा १७ गते मृत्यु भएकोमा १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गत असार १४ गते उनलाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । उनको क्षयरोगको उपचार भइरहेको थियो ।
यससँगै कोभिड–१९ का कारण नेपालभर ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।
२७२ जना निको भए
पछिल्लो २४ घण्टामा २७२ जना संक्रमित उपचारपछि डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले जानकारी दिए । संक्रमितमध्ये अहिलेसम्म ६ हजार ४१५ जना निको भएर घर फर्किइसकेका छन् ।
संक्रमितहरुको प्रादेशिक विवरण
प्रदेश १ : ६८६
प्रदेश २ : ४०८३
बागमती : ५२५
गण्डकी : ११३३
प्रदेश ५ : ३९४२
कर्णाली : १५४०
सुदूरपश्चिम : ३५८२