२० असार । शुक्रबार बेलुकी मात्रै कोरोना परिक्षणको रिपोर्टमा पोजिटिभ देखिएका गोरखाका एक ४४ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।
केही दिनदेखि गोरखा अस्पतालमा उपचार गरिररहेका पालुङ्टार नगरपालिका वडा नम्बर ७ का ती पुरुषको शनिवार बिहान करिब ५ बजे मृत्यु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर नविन थापाले जानकारी दिए ।
उनलाई पहिलेदेखि नै मधुमेहको पनि समस्या थियो । हिजो बेलुकी करिब १० बजेतिर उनको कोरोना रिपोर्ट पोजिटिभ आयो । रिपोर्ट आउनु अघि नै उनलाई हामीले आइसोलेसनमा सारेको थियौं उनमा निमोनिया भएको देखिएको थियो, थापाले बताए ।
हालै मात्रै कतारबाट नेपाल आएर क्वारेन्टाइनमा बसेका ती पुरुषको मृत्युसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले यसको औपचारिक घोषणा गर्न भने बाँकी नै छ तर जिल्ला स्वास्थ्य कार्यालय गोरखाले भने विज्ञप्ती जारी गरि यसको पुष्टि समेत गरिसकेको छ ।
गोरखामा कोरोना संक्रमणबाट भएको यो पहिलो मृत्यु हो । गण्डकी प्रदेशमा यसअघि दुई संक्रमितको मृत्यु भइसकेको छ । याेसँगै नेपालभर काेभिड–१९ का कारण ज्यान गुमाउनेकाे संख्या ३३ पुगेकाे छ ।