Nepal's Trusted Health Online Portal

कोरोना भाइरस विश्वः १ करोड १२ लाख बढीमा संक्रमण, ५ लाख ३० हजार बढीको मृत्यु

संक्रमितमध्ये ६० लाख ४४ हजार बढी निको भए

Get real time updates directly on you device, subscribe now.

२१ असार, काठमाडौं । नोभेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट आइतबार बिहानसम्म विश्वभर ५ लाख ३० हजार ११० जनाको मृत्यु भएको छ । कोरोना भाइरस संक्रमितहरुको संख्या १ करोड १२ लाख ३९ हजार ३७८ पुगेको छ । संक्रमितमध्ये ६० लाख ४४ हजार ४१४ जना निको भएका जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क छ ।

कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने र संक्रमितको संख्या निरन्तर अमेरिकामा सबैभन्दा बढी रहेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म १ लाख २९ हजार ६७३ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा २८ लाख ३८ हजार ६७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यहाँ करिब ८ लाख ९४ हजार बढी संक्रमित निको भएका छन् ।

अमेरिकाको न्यूयोर्कमा सबैभन्दा बढी ३ लाख ९६ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण फैलिएको छ भने त्यहाँ ३२ हजार १५७ जनाको ज्यान गएको तथ्याङ्क छ । पछिल्ला दिनहरुमा न्यूयोर्कमा कोरोनाबाट ज्यान गुमाउने र संक्रमण हुनेको दर न्यून रहेको छ ।

अमेरिकापछि सबैभन्दा बढी कोरोनाको संक्रमण ब्राजिलमा भएको छ । ब्राजिलमा पछिल्लो एक महिनामा १० लाख संक्रमित थपिएका हुन् । ब्राजिलमा हालसम्म १५ लाख ७७ हजार बढीमा संक्रमण भएको छ भने ६३ हजार १७४ जनाको ज्यान गएको छ ।

ब्राजिलपछि रसियामा ६ लाख ७३ हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । रसियामा संक्रमितहरुको मृत्युदर भने धेरै संक्रमण भएका अन्य देशहरुको तुलनामा थोरै छ । रसियामा आइतबार बिहानसम्म १० हजार ११ जना संक्रमितको ज्यान गएको छ ।

रसियापछि कोरोना भाइरस सबैभन्दा बढी संक्रमण हुने देशहरुको चौथो स्थानमा छिमेकी मुलुक भारत रहेको छ । कोरोना भाइरसको संक्रमण तीब्र गतिमा फैलिरहेको भारतमा आइतबार बिहानसम्म ६ लाख ४८ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क रहेको छ ।

भारतमा कोरोना संक्रमण तीब्र रुपमा वृद्धि हुँदाको सिधा प्रभाव नेपालसहितका छिमेकी मुलुकहरुमा परिरहेको छ । नेपालमा भेटिएका अधिकाँश कोरोना संक्रमित भारतमा काम गरेर फर्किएकाहरु हुन् । भारतमा आइतबार बिहानसम्म १८ हजार ६५५ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । त्यस्तै ३ लाख ९४ हजार बढी संक्रमित भने निको भइसकेका छन् ।

भारतपछि कोरोना भाइरस धेरै संक्रमण भएको देशहरको सूचीमा पेरु रहेको छ । पेरुमा २ लाख ९९ हजार बढीमा संक्रमण पाइएको छ भने १० हजार ४१२ जनाको मृत्यु भएको छ । यद्यपी पेरुमा संक्रमितहरुमध्ये १ लाख ८९ हजार ६२१ निको भइसकेका छन् ।

त्यस्तै धेरै संक्रमित हुने देशहरुमध्ये छैठौँ स्थानमा चिली रहेको छ । चिलीमा हालसम्म २ लाख ९१ हजार बढीमा संक्रमण पाइएको छ भने ६ हजार १९२ जनाको मृत्यु भएको छ । चिलीमा २ लाख ५७ हजार बढी संक्रमितहरु निको भइसकेका छन् ।

चिलीपछि बेलायतमा २ लाख ८६ हजार बढी मानिसहरुमा कोरोनाको संक्रमण भएको छ । बेलायत सुरुवाती चरणमा नै धेरै प्रभावित बनेको देशहरुमध्ये एक हो । बेलायतमा संक्रमितमध्ये धेरै प्रतिशतले ज्यान गुमाएका छन् । त्यहाँ हालसम्म ४४ हजार २८३ जनाको ज्यान गइसकेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बेलायतमा न्यून सङ्ख्यामा १ हजार ३७५ जना मात्र निको भएका छन् । यद्यपी बेलायतमा कोरोना बिस्तारै नियन्त्रणउन्मुख रहेको छ ।

त्यस्तै बेलायतपछि मेक्सिकोमा २ लाख ५२ हजार बढीमा कोरोना संक्रमण भएको छ । त्यहाँ हालसम्म ३० हजार ३६६ जनाले ज्यान गुमाएका छन् भने १ लाख ९५ हजार बढी निको भएका छन् ।

मेक्सिकोपछि सुरुवाती चरणमा नै प्रभावित बनेको स्पेनमा हालसम्म २ लाख ५० हजार बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । स्पेनमा हालसम्म २८ हजार ३८५ जनाको ज्यान गएको छ । त्यहाँ १ लाख ५० हजार ३७६ संक्रमित निको भएका छन् ।

कोरोना भाइरसको संक्रमणका कारण सुरुमै धेरै प्रभावित बनेको इटली धेरै संक्रमित भएका देशहरुको सूचीको दशौँ स्थानमा छ । इटलीमा २ लाख ४१ हजार ४१९ जनामा कोरोना संक्रमण भएको छ । त्यहाँ पछिल्ला दिनहरुमा कोरोना नियन्त्रित स्थितिमा छ । इटलीमा हालसम्म ३४ हजार ८५४ जनाले ज्यान गुमाएका छन् । त्यहाँ १ लाख ९१ हजार ९४४ संक्रमित निको भइसकेका छन् । यसरी अहिले इटलीमा करिब १५ हजार मात्र एक्टिभ संक्रमित रहेका छन् ।

इटलीपछि इरानमा २ लाख ३७ हजार बढी संक्रमित भएका छन् । इरानमा ११ हजार ४०८ जना संक्रमितले ज्यान गुमाएका छन् । इरानपछि पाकिस्तानमा २ लाख २५ हजार बढी संक्रमित भएका छन् ।

पाकिस्तानपछि क्रमशः साउदी अरेबियामा २ लाख ५ हजार बढी, टर्कीमा २ लाख ४ हजार ६१०, फ्रान्समा २ लाख ४ हजार २२२, जर्मनीमा १ लाख ९७ हजार बढी, साउथ अफ्रिकामा १ लाख ८७ हजार बढी र सार्क राष्ट्र बङ्लादेशमा १ लाख ५९ हजार बढीमा कोरोना संक्रमण फैलिएको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिले विश्वका १८८ देशहरुमा फैलिएको छ । चीनमा हालसम्म ८४ हजार ८५० जना मानिसहरुमा कोरोना भाइरसको संक्रमण भएको तथ्याङ्क छ । संक्रमित मध्ये ४ हजार ६ सय ४१ जनाको मृत्यु भएको छ भने ७९ हजार ७०० जना निको भइसकेका छन् । चीनमा अहिले कोरोना संक्रमण लगभग नियन्त्रणको स्थितिमा रहेको छ । त्यहाँ हाल ५०९ जना मात्रै एक्टिभ केश रहेको छ ।

सार्क राष्ट्रहरुमध्ये सबैभन्दा कम भुटानमा ७८ जनामा मात्र संक्रमण देखिएको छ । भुटानमा हालसम्म कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । त्यहाँ ५१ जना संक्रमित निको भइसकेका छन् ।

नेपालमा कोरोना संक्रमितहरुको संख्या बढेर शनिबारसम्म १५ हजार ४९१ पुगेको छ । कोभिड–१९ को संक्रमणबाट नेपालमा ३४ जनाको ज्यान गइसकेको छ । नेपालमा संक्रमितमध्ये ६ हजार ४१५ जना निको भएका छन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.