१७ भदौ, काठमाडौं । नेपालमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । बुधबार मात्र १२ जनाको मृत्यु पुष्टि भएको छ । जसमध्ये ६/६ जना महिला र पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो समय मृत्यु हुनेहरुमा चितवनकी ५५ वर्षीया र १८ वर्षीया दुई जना महिला, काठमाडौँकी ८९ वर्षीय एक महिला, ललितपुरकी ७० वर्षीय एक महिला, तनहुँकी २० वर्षीया एक महिला र कपिलवस्तुकी ६० वर्षीया एक महिला गरी जम्मा ६ जना महिला रहेका छन् ।
त्यस्तै बाराका ९७ वर्षीय एक पुरुष, चितवनका ६५ वर्षीय एक पुरुष, भक्तपुरका ४० वर्षीय एक पुरुष, काठमाडौँका ७० र ७५ वर्षीय दुई पुरुष र धादिङका ४७ वर्षीय एक पुरुष गरी जम्मा ६ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २५१ पुगेको छ । संक्रमितमध्ये ०.६ प्रतिशतको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।