१८ भदौ । चितवन मेडिकल कलेजमा एक जना महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
उनको उपचारको क्रममा गएराति मृत्यु भएको अस्पतालका निर्देशक डा.दयाराम लम्सालले जानकारी दिए ।
मृतक भरतपुर महानगरपालिका वडा नं ११ की ४० वर्षीया महिला हुन् । मृतक महिलालाई झाडापखाला, खोकी र सोडियमको मात्रा कम भएको थियो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो ।
स्वास्थ्यमा समस्या भएपछि उनलाई गत भदौ ५ गते चितवन मेडिकल कलेजमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनीमा १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
योसँगै चितवनमा हालसम्म १० जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् । चितवनका अस्पतालहरुमा अन्य ८ जिल्लाका संक्रमितको पनि मृत्यु भइसकेको छ ।