२७ असार, काठमाडौं । नेपालमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले शनिबारको नियमित कोरोना अपडेटमा थप ३ जना संक्रमितको मृत्यु भएको बताएका हुन् ।
गौतमका अनुसार काठमाडौँ वडा–१० शंखमुलका ६० बर्षीय पुरुषको कोभिड–१९ का कारण मृत्यु भएको छ । मृगौलाका रोगी उनी फोक्सोमा पानी जमेका कारण असार १६ गते पाटन अस्पताल भर्ना भएका थिए । असार १७ गते कोरोना परीक्षण गर्दा पोजिटिभ रिपोर्ट आएकोमा असार २६ गते मृत्यु भएको हो ।
त्यस्तै सिन्धुपाल्चोक पाँचपोखरी–०६ का ४५ बर्षीय पुरुषको पनि कोभिड–१९ का कारण मृत्यु भएको छ । उनलाई असार १८ गते क्षयरोगको उपचारका लागि पाटन अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा कोरोना परीक्षण गर्दा असार २२ गते कोरोना संक्रमण पुष्टि भएकोमा असार २५ गते निधन भएको प्रवक्ता गौतमले जानकारी दिएक छन् ।
असार २५ गते नै मृत्यु भएका काठमाडौँ गोकर्णेश्वर नगरपालिका वडा–०४ का ५४ बर्षीय पुरुषको पनि कोभिड–१९ का कारण मृत्यु भएको पुष्टि भएकोछ । मृगौलाका बिरामी उनको स्वास्थ्यमा समस्या आएपछि काठमाडौँ सिनामंगलको केएमसी अस्पतालमा भर्ना गरिएको थियो । श्वासप्रश्वासमा समस्या रहेका उनको मृत्युपछि कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
योसँगै नेपालभर कोभिड–१९ का कारण मृत्यु हुनेहरुको संख्या ३८ पुगेको छ । नेपालमा हालसम्म १६ हजार ७१९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ भने संक्रमितमध्ये ८ हजार ४४२ जना (संक्रमितको ५०.५ प्रतिशत) उपचारपछि निको भएका छन् ।