२७ असार, काठमाडौं । काठमाडौँ उपत्यकामा शनिबार थप ३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । सोमबार मुलुकभरी थपिएका ७० कोरोना संक्रमितमध्ये काठमाडौँमा ३ जना रहेका छन् ।
पछिल्ला दिनहरुमा देशभरी नयाँ कोरोना संक्रमितको ग्राफ ओरालो लागेको बेला उपत्यकामा भने बढीरहेको छ । शुक्रबार मात्रै उपत्यकाका ४२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो । शनिबार भने उपत्यकामा काठमाडौँका ३ जनामा मात्रै कोरोना संक्रमण देखिएको छ भने ललितपुर र भक्तपुरमा संक्रमण देखिएन ।
शनिबार थपिएका ३ समेत गरी उपत्यका भित्र ३३५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । जसमध्ये काठमाडौँमा २१९, ललितपुरमा ६९ र भक्तपुरमा ४४ रहेका छन् ।
शनिबार अन्य जिल्लामा थपिएका संक्रमितहरु
स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार झापाका २ जना, सिरहाका १ जना, सुनसरीका ४ जना, उदयपुरका ४ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै मोरङका ३ जना, धादिङका ३ जना, नुवाकोटका १ जना, सर्लाहीका ३ जना र सिन्धुपाल्चोकका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
त्यस्तै चितवनका १ जना, सिन्धुलीका १ जना, रौतहटका १ जना, पर्वतका १ जना, तनहुँका ४ जना र स्याङ्जाका ४ जनामा कोरोना देखिएको छ । बागलुङ्का ३, म्याग्दीका २ जना, कास्कीका २ जना, पाल्पाका १ जना, बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ५ जना, रुकुम पश्चिमका १ जना, सुर्खेतका ३ जना, सल्यानका १ जना, जुम्लाका २ जना, अछामका १ जना र कञ्चनपुरका ४ जनामा पनि कोरोना देखिएको छ ।
शनिबार मुलुकभरी भएका ३ हजार ६४८ जनाको पिसिआर परीक्षण रिपोर्ट अनुसार ७० जनामा कोरोना भाइरसको संक्रमण पाइएको हो । अन्य दिन भन्दा पछिल्लो २४ घण्टामा झण्डै आधा संख्यामा मात्रै कोरोनाको पिसिआर परीक्षण भएको हो ।
नेपालमा हालसम्म १६ हजार ७१९ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमिमध्ये ८ हजार ४४२ जना (संक्रमितको ५०.५ प्रतिशत) उपचारपछि निको भएका छन् भने ३८ जनाले ज्यान गुमाएका छन् ।