२२ साउन, काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ६५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्रै ५ जनाको ज्यान गएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मोरङको रंगेली नगरपालिका–०८ दर्वेसाका ४५ बर्षीय पुरुषकोे मृत्यु भएको छ । ज्वरो तथा श्वासप्रश्वासमा समस्या भएपछि उनलाई साउन २१ गते कोशी अस्पताल पुर्याउँदा उनको मृत्यु भएको थियो ।
त्यस्तै सर्लाही मलंगवा नगरपालिका–०८ की ६५ बर्षीय महिलाकोे पनि मृत्यु भएको छ । साउन २१ गते सशस्त्र प्रहरीबल अस्पताल बलम्बुमा उनको मृत्यु भएको हो ।
त्यस्तै धनुषा जिल्ल मिथिला नगरपालिका–१० लालगढकी ७२ बर्षीय महिलाको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ । उनको साउन १७ गते नै ओम अस्पताल चावहिलमा मृत्यु भएको हो ।
सप्तरीको रुपनी नगरपालिका–०५ का ४२ बर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको साउन २१ गते मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा हालसम्म २१ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण भएको छ । संक्रमितमध्ये १५ हजार ३८९ (७०.७ प्रतिशत) संक्रमण मुक्त भएका छन् ।