३० बैशाख, काठमाडौं । एकैपटक ठूलो संख्यामा कोरोना संक्रमित भेटिएपछि बारा र पर्सा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले यसअघि बैशाख २५ गते जारी गरेको निषेधाज्ञालाई थप प्रभावकारी बनाउने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालयले जिल्ला तथा इलाका प्रशासन कार्यालयबाट जारी भएका सिकिस्त बिरामी प्रयोजनबाहेकका सबै किसिमका पास पनि रद्ध गरेको छ ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार साँझ ८ बजेदेखि लागु हुने गरी निषेधाज्ञा जारी गरेको छ । औषधी उपचार तथा अन्य अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आदेश दिएको छ । अत्यावश्यकबाहेकका सबै पसल, उद्योग लगायतका सेवा बन्द गर्न आदेश दिइएको छ ।
मंगलबार मात्रै एकैदिन पर्सामा ३९ जना र बारामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । गृह मन्त्रालयले देशैभरी लकडाउनमा कडाई गर्ने निर्णय गरीसकेको छ भने एक जिल्लाबाट अर्को जिल्लामा जाने सबै पास खारेज गरेको छ ।