३० बैशाख, काठमाडौं । गृह मन्त्रालयले जेठ १ गतेबाट लागु हुने गरी एक जिल्लाबाट अर्को जिल्लामा जानलाई जारी गरिएका सबै पास रद्ध गरेको छ ।
मंगलबार कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि गृहले लकडाउनमा थप कडाई गर्ने निर्णय गरेको हो । सोही अनुसार सम्बन्धित निकायलाई थप कडाई गर्न गृहले निर्देशन दिएको छ ।
उपत्यकामा कार्यरत सरकारी कर्मचारीहरुलाई पनि पास अनिवार्य गरिएको छ । सरकारी कर्मचारीहरुले अबदेखि आवतजावतका लागि सम्बन्धित मन्त्रालयको सचीवले जारी गरेको पास देखाउनु पर्नेछ ।
निजि संस्थाहरुमा काम गर्ने व्यक्तिहरुको लागि नियामक निकायले पास जारी गर्नेछ । यसअघि सरकारी कर्मचारी, उद्योगहरु, बैंक तथा वित्तीय संस्था, निर्माण सामग्री ढुवानी लगायतका सेवा प्रदान गर्ने संस्थाहरुमा आबद्ध कर्मचारीहरुलाई परिचय पत्रको आधारमा आवतजावत गर्न दिइएको थियो ।
अत्यावश्यक सेवा प्रदायकहरुले भने पूर्ववत तवरले नै आवतजावत र सवारी साधन सञ्चालन गर्न सक्नेछन् ।