२३ साउन, काठमाडौं । बागमती प्रदेश सरकारले क्यान्सर पीडित बालबालिकाहरुलाई उपचार खर्च स्वरुप ५० हजार रुपैँयासम्म उपलब्ध गराउने भएको छ ।
प्रदेशले कान्तिबाल अस्पतालमा उपचाररत क्यान्सर रोग लागेका बालबालिकालाई सो उपचार खर्च उपलब्ध गराउने भएको हो ।
अस्पतालमा उपचाररत बालबालिकालाई सहयोग उपलब्ध गराउन बागमती प्रदेश सरकार र अस्पतालबीच सम्झौता भएको छ ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका नीति योजना महाशाखा प्रमुख दीपकप्रसाद तिवारीले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमअन्तर्गत कान्ति अस्पतालसँग सम्झौता गरिएको जानकारी दिए ।
क्यान्सर लागेका बालबालिकाको उपचारका लागि हाल केन्द्रीय सरकारले प्रतिबालबालिका १ लाख रुपैयाँसम्म उपचार खर्च बेहोर्दै आएको छ ।
बागमती प्रदेशले पनि उपचारमा सघाउने भएपछि अब कान्तिमा उपचार गर्ने क्यान्सर पीडित बालबालिकाले एक लाख पचास हजार रुपैयाँसम्म उपचार खर्च सहयोग पाउने छन् ।
कान्ति अस्पतालमा ४ महिनायता १४ वर्ष उमेरसम्मका बालबालिका क्यान्सरको उपचार गराउन आएको अस्पतालका निर्देशक डा. युवानिधी बसौलाले बताए । बसौलाका अनुसार उपचारका लागि आएका बालबालिकामध्ये सबैभन्दा बढी रक्त क्यान्सर पीडित बालबालिका रहेका छन् ।
अस्पतालमा मिर्गौला र आँखाको क्यान्सरका बालबालिका पनि अधिक संख्यामा हुने गरेका छन् । कान्ति अस्पतालमा प्रत्येक वर्ष २ सय हाराहारी बालबालिकामा क्यान्सर पत्ता लाग्ने गरेको छ । क्यान्सर लागेका मध्ये ७० प्रतिशतसम्म निको हुने गरेको बसौलाले बताए ।
कान्ति बाल अस्पतालमा क्यान्सर रोग लागेका बालबालिकाको उपचारमा छुट्याइएको २६ शय्या भरिएको छ ।