२२ साउन, काठमाडौं । मुटुको शल्यक्रियाका लागि अत्यावश्यक पर्ने अक्सिजेनेटर मेसिन नेपाल ल्याइएको छ ।
अक्सिजेनेटर मेसिन नहुँदा बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा मुटुको शल्यक्रिया रोकिएको थियो ।
अमेरिकाबाट ३०० अक्सिजेनेटर मेसिन म्याक्स मेडिटेक सिस्टमले आइतबार नेपाल ल्याएको हो । ती मेसिन मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका लागि ल्याइएको हो । गङ्गालालका लागि भने १४०० अक्सिजेनेटर मेसिन इटालीबाट आउनेक्रममा छ ।
गङ्गालालमा तत्काल अक्सिजेनेटर मेसिन अभाव भएपछि मनमोहनका लागि आएको उक्त मेसिन गङ्गालाल अस्पताललाई दिइनेछ ।
गङ्गालाल अस्पतालमा पनि सापटीका रूपमा अक्सिजेनेटर मेसिन दिन सकिने गङ्गालाल अस्पतालका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले बताए । गङ्गालालमा धेरै संख्यामा शल्यक्रिया गरिने भएकाले मात्र अक्सिजेनेटर मेसिनको अभाव भएको श्रेष्ठको भनाई छ ।
अक्सिजेनेटर मेसिन अभाव भएपछि अस्पतालहरुमा मुटुको शल्यक्रिया प्रभावित भएको थियो । ३०० मेसिन भित्रिएपछि हाललाई अक्सिजेनेटरको अभाव टरेको छ ।