Nepal's Trusted Health Online Portal

चीनमा फेरी देखियो कोरोना भाइरसको संक्रमण, सुरु भयो लकडाउन

Get real time updates directly on you device, subscribe now.

१ असार । चीनमा ५० दिनको अन्तराल पछि पुनः कोरोना भाइरस संक्रमण देखिएको छ । राजधानी बेइजिङमा रहेको एक होलसेल बजारमा एकैपटक ४५ जनामा संक्रमण देखिएपछि त्यहाँ फेरी लकडाउन सुरु गरिएको छ ।

सिनफादी नामक सो बजारका कुल ५ सय १७ जनामा कोरोना भाइरसको परीक्षण गरिएकोमा ४५ जनामा संक्रमण पुष्टि भएको चिनियां अधिकारीहरुले बताएका छन् । संक्रमण देखिएकाहरुमा लक्षण भने देखिएको छैन ।

दोस्रो चरणको संक्रमणको खतरा रहेको भन्दै चीन सरकारले फेरी लकडाउनको घोषणा गरेको छ । संक्रमण फेला परेको बजार क्षेत्रसँग जोडिएका ११ वटा बजार क्षेत्रमा लकडाउन लागू गरिएको छ । बजारमा कार्यरत १० हजार कर्मचारीको कोरोना परीक्षण गरिने भएको छ ।

यसैगरी सिनफादी बजारसँग हालै सम्पर्कमा आएका हरेक मानिसका साथै सो क्षेत्र वरपरका जिल्लामा बसोबास गर्नेको पनि परीक्षण गरिने अधिकारीहरुले बताएका छन् । बेइजिङको दक्षिण पश्चिम फेङटाई जिल्लामा रहेको सिनफादी बजारमा गएका दुई जनाले आफूहरुलाई कोभिङ-१९ संक्रमण भएको जानकारी गराएपछि शनिबार सबैरैबाट सो क्षेत्रमा लकडाउन गरिएको हो ।

आम नागरिकको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै संक्रमण भेटिएको बजार र आसपासका क्षेत्रमा लकडाउन गरिएको अधिकारीले जनाएका छन् । संक्रमण भेटिएको जिल्लामा हाल कडा लकडाउनका कारण युद्धको समयमा हुने आपतकालिन जस्तै रहेको बताइएको छ ।

लकडाउनको समयमा सुविधा पुर्‍याउनका लागि हजारौंको संख्यामा सैन्य प्रहरी तैनाथ गरिएको छ । सो क्षेत्रसँग जोडिएको यातायातका साथै विद्यालयसमेत बन्द गरिएका छन् ।

संक्रमणकै कारण बेइजिङमा हुने सबै खेल कार्यक्रम रोकिएका छन् । चीनमा हालसम्म कोरोना संक्रमणका कारण ४ हजार ६ सयजना मानिसको ज्यान गएको छ । विश्वमा हालसम्म ४ लाख २६ हजारभन्दा बढीको कोरोना संक्रमणकै कारण मृत्यु भइसकेको छ ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.