१ असार, काठमाडौं । नेपालमा सोमबार थप ४ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ६ हजार २ सय ११ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ४१६ जना पुरुष र ३५ जना महिला गरी ४५१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार हालसम्म ७३ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
संक्रमित मध्ये अहिलेसम्म १ हजार ४१ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता डा. गौतमले जानकारी दिए । डिस्चार्ज हुनेमध्ये १०४ जना महिला र ९३७ जना पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा ७ जना महिला र ६० जना पुरुष गरी ६७ जना उपचारपछि डिस्चार्ज भएका छन् ।