Nepal's Trusted Health Online Portal

क्वारेन्टिन कथाः कतै बिजोग कतै रहरलाग्दो

Get real time updates directly on you device, subscribe now.

२ असार, काठमाडौं । समुदायस्तरमा कोरोना महामारी फैलन नदिनको लागि विभिन्न स्थानिय तहले पालिकामा रहेका विद्यालयलाइ क्वारेन्टिन स्थलका रुपमा परिणत गरेर बाहिरबाट आउने हरेक मानिसलाइ राख्ने गरेका छन् । कतै यी क्वारेन्टिनको बसाइ निकै रहर लाग्दो छ त कतै निकै पट्यार लाग्दो । भारतबाट आएकालाइ राख्नलाइ कैलालीमा बनाइएका क्वारेन्टिन मापदण्ड अनुसार नहुँदा बस्न निकै पट्यार लाग्दो छन् जसले जोखिम झनै बढाएको छ ।

स्थानीय पालिकाले मापदण्ड विपरीतका क्वारेन्टिन निर्माण गरेर व्यवस्थापन गरिरहेको जिकिर गरिरहँदा सुदूरपश्चिममा कोरोना सङ्क्रमण देखिएकाहरू अधिकांश क्वारेन्टिनमै बसेकाहरू रहेको सरकारी अधिकारीहरुले दाबी छ । मापदण्ड विपरीतका क्वारेन्टिन कोरोना सङ्क्रमणको केन्द्र बनेका छन् सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक गुणराज अवस्थीले बताए । सुदुरपश्चिमको घोडाघोडी नगरपालिका–३ मा रहेको सरस्वती आधारभूत विद्यालयमा सञ्चालित क्वारेन्टिनको अवस्था दयनीय छ ।

एउटै कोठामा १५ जनासम्म बसेका छन् । क्वारेन्टिन स्थलमा शौचालय नहुँदा राति बाहिर गएर शौचालय गर्नुपर्ने बाध्यता छ । शुद्ध पिउने पानीको अभाव, विद्युत्, गर्मी जस्ता समस्या क्वारेन्टिनमा रहेको छ । यो घोडाघोडी नगरपालिकाको क्वारेन्टिनको उदाहरण मात्र हो । नगरपालिकाले पालिकाका सामुदायिक विद्यालय तथा सार्वजनिक भवनलाई प्रयोग गरेर ६५ क्वारेन्टिन बनाएको छ । नगरपालिकाले सञ्चालन गरेका एकदुई क्वारेन्टिनबाहेक हरेकमा समस्या छ ।

क्वारेन्टिनको मापदण्ड पूरा नभएका कारण क्वारेन्टिनबाटै सङ्क्रमण फैलने जोखिम पनि छ । घोडाघोडीमै केही राम्रा व्यवस्थापन भएका क्वारेन्टिन पनि छन् । नगरपालिका वडा नम्बर १० मा रहेको कान्ति माविमा सञ्चालित क्वारेन्टिनमा बसेकाहरू पारिवारिक वातावरणमा बस्न पाएको बताउँछन् । क्वारेन्टिनमा बसेर भर्खरै घर फर्किएका घोडाघोडी–१० का नीरज नेपाली भन्छन् ‘बिहानै चिया खाजा, अनि खाना दिउँसो खाजा, फेरि साँझ खाना खाइन्थ्यो क्वारेन्टिनमा, यस्तो राम्रो व्यवस्थापनमा बस्न पाइएला सोचेकै थिएनौं’ । स्वयंसेवकहरुको आत्मीय व्यवहारले क्वारेन्टिन बसाइ झनै सजिलो भएको उनले बताए ।

गौरीगंगा नगरपालिका–९ का तीन विद्यालयमा रहेका क्वारेन्टिन जिल्लाका अरु ठाउँका भन्दा फरक छन् । त्यहाँका क्वारेन्टिनको व्यवस्थापनमा युवाहरू स्वतःस्फूर्त लागेका छन् । हरेक क्वारेन्टिनमा प्रत्येक दिन बिहान योग प्रशिक्षण गराइन्छ । मनोविमर्शकर्ताबाट क्वारेन्टिनमै मर्नोपरामर्श दिइन्छ र प्रत्येक दिन बेलुकी शारीरिक व्यायाम गर्न प्रेरित गरिन्छ । भारतबाट आउने क्रम बढ्नु तथा देशभित्रै अन्य स्थानबाट जिल्ला भित्रिने क्रम वृद्धिले क्वारेन्टिनमा बस्नेको सङ्ख्या एक्कासि बढेपछि मापदण्ड कायम गर्न नसक्दा सामूहिक बसाइले जोखिम बढेको व्यवस्थापनमा लागेकाहरु नै बताउँछन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.