१ भदौ । बागमती प्रदेश सभाकी उपसभामुख राधिका तामाङलाई कोरोनो सङ्क्रमण भएको छ ।
उपसभामुख तामाङसहित उनको ९ वर्षीय छोरालाई पनि कोरोना सङ्क्रमण भएको तामाङको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
साउन १५ गते सङ्घीय राजधानी काठमाडौँ गएका बेला भएका विभिन्न राजनीतिक भेटघाटका क्रममा कोरोना सङ्क्रमण भएको अनुमान गरिएको उपसभामुख तामाङका श्रीमान् डिबी तामाङले जानकारी दिएका छन् ।
गत साउन १५ गते उपसभामुखसहितको टोली काठमाडौँ गएर साउन २५ गते फर्किएको थियो । काठमाडौँ रहँदा गृहजिल्ला नुवाकोटका तीन वटा टोलीसँग समेत भेटघाट भएको थियो । उक्त टोलीका एक जना वडाध्यक्षमा कोरोना पोजिटिभ देखिएपछि उपसभामुख तामाङको पनि स्वाब परीक्षण गरिएकोमा रिपोर्ट पोजिटिभ आएको हो ।
उपसभामुख तामाङको हेटौँडामा स्वाब संकलन गरी पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि अहिले उपसभामुखको परिवार सरकारी निवासमा आइसोलेसनमा रहेको छ ।
उपसभामुख तामाङको चालक, पीएसओसहित ६ जनाको स्वाब संकलन गरी परीक्षण गरिएकोमा ९ वर्षीय छोरा र उपसभामुखको मात्रै रिपोर्ट पोजिटिभ आएको हो ।