११ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२१ जनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमण केस ७ लाख ३८ हजार ९१८ पुगेको छ ।
गत २४ घण्टामा १२ हजार २४० आरटी पीसीआर विधी र ५ हजार ३२ एन्टिजेन गरी जम्मा १७ हजार २७२ नमुना परीक्षण गरिएकोमा ३ हजार ४२१ नमुनाको नतिजा पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोनाका संक्रमितहरुमध्ये ३९.७१ प्रतिशत महिला र ६०.२९ प्रतिशत पुरुष रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर २५ जना कोरोना संक्रमितको मृत्यु भएको रिपोर्ट प्राप्त भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९ हजार ७३८ पुगेकोे छ ।
त्यस्तै १ हजार ६८६ जना कोरोना संक्रमण मुक्त भएका छन् । नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त भएका केस ६ लाख ४५ हजार ३०१ छ । संक्रमितमध्ये ९४.५ प्रतिशत संक्रमणमुक्त भएका हुन् ।