३२ जेठ, काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमणको परीक्षण निजी प्रयोगशालाहरुलाई दिने भएको छ ।
आइतबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. जागेश्वर गौतमले परीक्षण गर्दा लाग्ने सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गरि मापदण्ड पुरा गरि स्वीकृति लिएर परिक्षण गर्न पाउने बताएका हुन् ।
पीसीआर टेस्टका लागि सङ्कलित नमुना आवश्यक प्रक्रिया पूरा गरी स्विकृति लिएका निजी प्रयोगशालालाई पनि जाँच्न दिइने व्यवस्था गरिएको उनले बताए । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वीकृति लिइएका पीसीआर टेस्टका नमुनाहरु अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि जाँच्न दिने व्यवस्था गरिएको छ’ गौतमले भने ।
त्यस्तै, विदेश जानको लागि आवश्यक पर्ने भिसाको लागि निरोगिता प्रमाणपत्रको लागि लिइने नमुना परीक्षण त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल र पाटन अस्पतालका ल्याबमा गरिने उनले बताए ।
पत्रकार सम्मेलनमा प्रवत्ता गौतमले स्वास्थ्य मन्त्रालयको निर्देशिकामा यात्रा गरेर आउन र गरेपछि परीक्षण गर्नुपर्छ भन्ने नभएको बताउनुहुँदै कोही कसैको परीक्षण नगर्न, नगराउन सम्बद्ध संघसंस्था र स्थानीय निकाय, घरपेटीहरुमा आग्रह पनि गरेका छन् ।