२४ असार, काठमाडौं । ललितपुर महानगरमा असार २७ र २८ गते कोभिडविरुद्धको दोस्रो मात्राको खोप लगाइने भएको छ । ललितपुर महानगरपालिकाले महानगरका सबै वडामा खोप लगाइने जानकारी दिएको हो ।
महानगर स्तरिय खोप समन्वय समितिले महानगर भित्रका २९ ओटै वडा कार्यालयहरुमार्फत खोप दिने निर्णय गरेको ललितपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्यालले जानकारी दिए ।
यसअघि पहिलो मात्रा भेरोसेल खोप लगाएका ६० देखि ६४ वर्ष उमेर समुहका नागरिकलाई खोप दिन लागिएको हो ।
त्यस्तै यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका तथा विभिन्न कारणले दोस्रो मात्रा लगाउन नपाएकाहरुलाई समेत खोप कार्डका आधारमा लगाउन दिइनेछ ।
गोदावरी नगरपालिकामा २५ गते
गोदावरी नगरपालिकामा २५ गते शुक्रबार खोप कार्यक्रम सञ्चालन हुने भएको छ । यसअघि भेरोसेलको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समुहका नागरिक तथा पहिलो मात्रा लगाएर दोस्रो मात्रा लगाउन छुटेकाहरुलाई खोप दिइनेछ ।
गोदावरी नगरपालिकाले सूचना जारी गर्दै नगरपालिकाभित्र १४ ओटा केन्द्रमा खोप लगाइने जनाएको छ । खोप लगाउन अनिवार्य खोप कार्ड लिएर जानुपर्नेछ ।

