२७ जेठ, काठमाडौं । नेपालमा मंगलबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ४ हजार ८५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर २९२ जना पुरुष र ३१ जना महिला गरी ३२३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार भरतपुर अस्पतालमा भरतपुर–११, चितवनका एक पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको छ । उनी प्रेसर, सुगर र निमोनियाका बिरामी थिए । उनको हिजो सोमबार बेलुकी पिसिआर रिपोर्ट पोजिटिभ आएकोमा आज बिहानै मृत्यु घोषणा गरिएको हो ।
योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ५ सय ८४ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता गौतमले जानकारी दिए । आज ८ जना महिला र ८८ जना पुरुष गरी ९६ जना उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशका ७२ जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । संक्रमित जिल्लाहरुमध्ये आज ईलाम जिल्ला थपिएको छ ।