२४ जेठ, काठमाडौं । नेपालमा शनिबार नयाँ ३ सय २३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । योसंगै नेपालमा कोरोना संक्रमित भएकाहरुको संख्या ३ हजार २ सय ३५ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयले दैनिक पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा देशभर ३२३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार डोल्पाका ५८ बर्षीय पुरुष र धनगढीकी ५५ बर्षीय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मृत्यु भएपछि पिसिआर परीक्षण गरिएकोमा उनीहरु दुवै जनाको रिपोर्ट पोजिटिभ आएको हो ।
यो सँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । संक्रमित मध्ये अहिलेसम्म ३ सय ६५ जना निको भएर घर फर्किइसकेको पनि प्रवक्ता देवकोटाले जानकारी दिए ।
हालसम्म देशका ७० जिल्लाहरुमा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।