२७ बैशाख, काठमाडौं । नेपालमा शनिबार बिहान थप ७ जना कोरोना भाइरस (कोभिड–१९) को संक्रमित थपिएका छन् । उदयपुर भुल्केका ३ जना महिला, कपिलवस्तुका ३ जना पुरुष तथा पर्साका १ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
थपिएका नयाँ संक्रमितहरुमा उदयपुर भुल्के निवासी १८, ४५ र ६५ बर्षीय महिला, कपिलवस्तु निवासी १७, १८ र १८ बर्षका युवक तथा पर्सा छपकैया निवासी एक ६२ बर्षीय पुरुष रहेका छन् ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालको प्रयागशालामा गरिएको स्वाब परीक्षणबाट उनीहरु ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरुहरु सातैजना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जनाकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितको संख्या १०९ पुगेको छ । संक्रमितमध्ये २७ जना निको भएका छन् । यसअघि संक्रमण निस्क्रिय भएर डिस्चार्ज भएका ३ जनामा भने पुनः संक्रमण पाइएको पछि उनीहरु थप उपचारमै रहेका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।