Nepal's Trusted Health Online Portal

अमेरिकी उपराष्ट्रपति माइक पेन्सकी एक मुख्य सहयोगीमा कोरोनाभाइरस संक्रमण

Get real time updates directly on you device, subscribe now.

बीबीसी । संयुक्त राज्य अमेरिकाका उपराष्ट्रपति माइक पेन्सकी एक उच्च सहयोगीमा कोरोनाभाइरस सङ्क्रमण देखिएको छ ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसका एक कर्मचारीमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको भोलिपल्ट उनमा संक्रमण देखिएको हो ।

उपराष्ट्रपति पेन्सकी प्रेस सेक्रेटरी केटी मिलरमा शुक्रवार कोरोनाभाइरस पोजिटिभ देखिएको जनाइएको छ ।

ह्वाइट हाउसले राष्ट्रपति डोनल्ड ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक परीक्षण गर्न थालेको छ र राष्ट्रपतिलाई सङ्क्रमणबाट जोगाउन हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेको कार्यालयले जनाएको छ ।

सम्पर्कः
शुक्रवार वाशिङ्गटन डीसीमा जहाज रोकिरहेको ठाउँबाट उपराष्ट्रपति पेन्सको टोलीका ६ जना सदस्यलाई अचानक विमानबाट ओर्लिन लगाइएको थियो । उनी आएवामा धार्मिक नेताहरूसँग भेटघाट गर्न जाँदै थिए ।

परिचय नखुलाइएका स्रोतले जनाएअनुसार ती कर्मचारीहरू उपराष्ट्रपति पेन्सकी प्रेस सहयोगी मिलरसँग सम्पर्कमा थिए । केटी मिलर अमेरिकी राष्ट्रपति ट्रम्पका सहयोगी स्टेफन मिलरकी श्रीमती हुन् ।

राष्ट्रपति ट्रम्प शुक्रबार वाशिङ्गटनस्थित द्वितीय विश्वयुद्ध स्मारक क्षेत्र पुगेका थिए ।
ह्वाइट हाउसमा रिपब्लिकनहरूसँगको एउटा बैठकमा राष्ट्रपति ट्रम्पले संवाददाताहरूलाई भने, केटी एक असल महिला हुन् ।

उनी लामो समयदेखि परीक्षणहरूमा खरो उत्रिएकी थिइन् र अहिले आएर कोरोनाभाइरस परीक्षण गर्दा उनमा पोजिटिभ देखियो ।

राष्ट्रपति कार्यालयमा कोरोनाभाइरस सङ्क्रमणको प्रकोप फैलिन सक्ने सम्भावनाबारे संवाददाताहरूले प्रश्न गर्दा ट्रम्पले भने, तपाईँले गर्न सक्ने भनेको सावधानीका उपायहरू अवलम्बन गर्ने हो र तपाईँले गर्न सक्नेमा उत्कृष्ट कुरा गर्नुपर्छ ।

यसअघि शुक्रवार ट्रम्पले आफूले मास्क लगाउन थालेको फक्स न्यूजलाई बताएका थिए ।

परीक्षण:

त्यसको एक दिनअघि राष्ट्रपतिलाई खाना पस्कने अमेरिकी जल सेनाका एक सदस्यमा कोरोनाभाइरस सङ्क्रमण देखिएको थियो ।

राष्ट्रपतिका अनुसार चार दिनअघि ती व्यक्तिको परीक्षण नतिजा निगेटिभ देखिएको थियो ।
यसकारण परीक्षणको नतिजा निगेटिभ आउँदैमा ढुक्क हुन सकिँदैन, राष्ट्रपति ट्रम्पले भने । यद्यपि अबउप्रान्त कर्मचारीहरूको दैनिक स्वास्थ्य परीक्षण गरिने उनको भनाइ थियो ।

त्यसको केही समयपछि ह्वाइट हाउसकी प्रेस सेक्रेटरीले कर्मचारीहरूको सुरक्षाका लागि चालिएका कदमहरूको बचाउ गरिन् । उनले भनिन्, ूहामीले राष्ट्रपतिलाई सङ्क्रमणबाट सुरक्षित राख्नका निम्ति हरेक सुरक्षात्मक उपाय अवलम्बन गरिरहेका छौँ ।

राष्ट्रपति ट्रम्पका चिफ अफ स्टाफ मार्क मीडोजले पनि संवाददाताहरूलाई भने, तपाईँ जान सक्ने अति सुरक्षित स्थानहरूमध्ये यो एउटा हो ।

ह्वाइट हाउसस्थित कोरोनाभाइरस टास्क फोर्सका अनुसार अमेरिकाले दैनिक दुई लाख ८० हजार व्यक्तिको परीक्षण गरिरहेको छ ।

हालसम्म ८१ लाख व्यक्तिको परीक्षण गरिसकिएको उक्त टास्क फोर्सले जनाएको छ ।

अमेरिकामा कोरोनाभाइरसबाट मृत्यु हुने व्यक्तिहरूको संख्या शुक्रबारसम्म ७६ हजार नाघेको छ ।

अमेरिकाका कतिपय राज्यहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि गरिएको लकडाउन हटाउन अब शुरू गर्दैछन् ।

Get real time updates directly on you device, subscribe now.

Leave A Reply

Your email address will not be published.