२ जेठ, काठमाडौं । नेपालमा शुक्रबार बिहान थप ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । मकवानपुरका १ र बाँके जिल्लाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नेपालगञ्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको थ्रोट स्वाब परीक्षणबाट उनीहरु ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
थपिएका नयाँ संक्रमितहरुमा मकवानपुर निवासी ३७ बर्षीय पुरुष, बाँके जिल्ला नैनापुर ०१, ०३ र ०५ निवासी १८, २०, २२, २५, २५, २७, ३२ र ३६ बर्षीय पुरुषहरु रहेका छन् । मकवानपुरमा आज पहिलो पटक कोरोना संक्रमित फेला परेको हो ।
संक्रमितहरु सबै जना अहिले स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले जानकारी दिएका छन् ।
यससँगै नेपालभर कोरोना संक्रमितहरुको संख्या २५८ पुगेको छ । संक्रमितहरुमध्ये ३५ जना निको भएका छन् । अन्य संक्रमितहरु सबै उपचाररत रहेका छन् । उपचाररत सबैको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।