७ साउन, काठमाडौं । सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि होम क्वारेन्टिन सम्बन्धी मापदण्ड जारी गरेको छ ।
कोभिड–१९ प्रभावित देशहरुबाट फर्किने नागरिकहरुलाई लक्षित गरी सरकारले १४ दिनसम्म होम क्वारेन्टिनमा बस्न ९ बुँदे मापदण्ड जारी गरेको हो ।
विदेशबाट फर्किएका नेपालीहरुले होम क्वारेन्टिनमा बस्न चाहेमा सम्बन्धित अधिकारीले स्थानिय निकायको सहमति र प्रत्यक्ष निगरानीमा रहने गरी १४ दिनका लागि होम क्वारेन्टाइनमा बस्ने गरी पठाउन सक्नेछ ।
मापदण्डमा भौतिक पुर्वाधार देखि शारीरिक मानसिक स्वास्थ्य तथा जोखिम समुहको सुरक्षा सम्म समावेश गरिएको छ ।
होम क्वारेन्टिनका लागि हावा खेल्ने, पर्याप्त प्रकाश छिर्ने छुट्टै कोठा हुनुपर्नेछ । सकभर स्नानघर तथा शौचालय छुट्टै हुनेपर्ने वा नभएमा प्रत्येक प्रयोग पश्चात डिसइन्फेक्ट गरी प्रयोग गर्नु पर्नेछ ।
त्यस्तै घरका सदस्य तथा आफन्तहरु बीच २ मिटरको भौतिक दुरी राख्नुपर्ने, अनिवार्य रुपमा मेडिकल मास्क तथा कपडाको भएमा तीन तहको मास्कको प्रयोग गर्नुपर्ने, समय–समयमा हात धुने वा अल्कोयुक्त स्यानिटाइजरको प्रयोग गरिनुपर्ने लगायतका सावधानीहरु अपनाउने पर्ने मापदण्डमा उल्लेख छ ।
मापदण्डमा शारीरिक र मानसिक रुपमा स्फुर्त रहनका लागि आफुलाई सक्रिय राख्ने, पुस्तक पढ्ने, रेडियो सुन्ने, टिभि हेर्ने, योगाभ्यास तथा शारीरिक व्यायाम गर्ने, नकारात्मक समाचारबाट टाढा रहने तथा कुनै भ्रम तथा जिज्ञासा उत्पन्न भएमा सरकारले तोकेको हटलाइन मार्फत मनोपरामर्श समेत लिन सकिने कुरा उल्लेख छ ।
त्यस्तै बढी जोखिममा रहने समुहहरु जस्तै दिर्घरोगी, उच्च रक्तचाप, मुटुरोगी, दम वा श्वासप्रश्वास सम्बन्धि समस्या भएकाहरु, क्यान्सर रोगी, मृगौला रोगी, ६० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरु, गर्भवती तथा सुत्केरी महिलाहरुलाई सम्भावित संक्रमितहरुबाट टाढा वा छुट्टै कोठामा राख्न भनिएको छ ।