६ माघ, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई सातै प्रदेशमा विस्तार गर्ने बताएका छन् ।
भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले केन्द्रलाई भक्तपुरको सल्लाघारीमा ९९ रोपनी जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने पनि प्रतिबद्धता जनाएका छन् ।
एक हजार जनाको मिर्गाैला प्रत्यारोपण सम्पन्न गरेको उपलक्ष्यमा केन्द्रद्धारा आयोजित उक्त कार्यक्रममा उनले सातै प्रदेशमा सेवा विस्तार गर्ने गरी आवश्यक उच्चस्तरीय जनशक्ति उत्पादन गर्न सरकारले केन्द्रलाई राष्ट्रिय प्रत्यारोपण विज्ञान प्रतिष्ठान बनाउने कुरामा गम्भीर भएको बताए ।
नेपालमा अहिले वर्षमा सरदर तीन सय मिर्गौला प्रत्यारोपण हुँदै आएकोमा केन्द्रले मात्र दुई सय मिर्गौला प्रत्यारोपण गर्दै आएकोे शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले बताएको छ ।
त्यस्तै, स्वास्थ्य मन्त्री पदम गिरीले किड्नी लगायतका बिरामीले लामो समय पालो कुर्नुपर्ने बाध्यताको अन्त्य गर्न सातै प्रदेशका मुख्य अस्पतालबाट सेवा विस्तार गर्ने बताए ।
गुणस्तरीय स्वास्थ्य सेवा नपाएर मर्नुपर्ने अवस्थाको अत्य गर्न सबै एकताबद्ध भएर अगाडि बढ्न पनि मन्त्री गिरीले आग्रह गरे ।
कार्यक्रममा स्वास्थ्य सचिव रोशन पोखरेलले प्रत्यारोपणका कार्यका लागि हाल एक सय शैया मात्र उपलब्ध भएकोले ३०५ शैयासम्म सञ्चालन गर्नका लागि सरकारले पहल गर्नुपर्ने बताए ।