२२ असार, काठमाडौं । छिमेकी मुुलुक भारत कोरोना अतिप्रभावित मुलुकहरुको तेस्रो स्थानमा उक्लिएको छ । यसअघि कोरोना अतिप्रभावित देशहरुको चौथो स्थानमा रहेको भारतले रसियालाई उछिनेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार भारतमा यो समाचार तयार पार्दासम्म कोरोना संक्रमितको संख्या ६ लाख ९७ हजार नाघेको छ ।
भारतमा हालसम्म १९ हजार २९३ जना संक्रमितले ज्यान गुमाईसकेका छन् । ४ लाख २४ हजार भन्दा बढी संक्रमितहरु भने निको भएका छन् । भारतमा सबैभन्दा बढी संक्रमण महाराष्ट्रमा २ लाख ६६ हजार ६१९ जनामा कोरोना संक्रमण भएको छ त्यहाँ सबैभन्दा बढी ८ हजार ८२२ जनाले ज्यान गुमाएका छन् । त्यस्तै तमिलनाडुमा १ लाख ११ हजार बढीमा संक्रमण भएको छ ।
कोरोना अतिप्रभावित देशहरुको चौथो स्थानमा पुगेको रसियामा ६ लाख ८० हजार भन्दा बढी मानिसहरुमा कोरोना संक्रमण भएको छ । त्यहाँ १० हजार १४५ जना संक्रमितले ज्यान गुमाएका छन् भने करिब ४ लाख ५० हजार संक्रमितहरु निको भएका छन् ।
कोरोना भाइरसको संक्रमण धेरै भएका देशहरुको सूचिमा अमेरिका पहिलो स्थानमा छ । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार अमेरिकामा यो समाचार तयार पार्दा सम्म २८ लाख ८८ हजार बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भने १ लाख २९ हजार ९४७ जना संक्रमितहरुले ज्यान गुमाइसकेका छन् । अमेरिकामा करिब ९ लाख ६ हजार बढी संक्रमित निको भएका छन् ।
कोरोना अतिप्रभावित देशहरुको सूचिको दोस्रो स्थानमा ब्राजिलमा छ । ब्राजिलमा हालसम्म १६ लाख ३ हजार बढीमा संक्रमण भएको छ भने ६४ हजार ८६७ जनाको ज्यान गएको छ । अतिप्रभावित देशहरुको पाँचौँ र छैठौँ स्थानमा क्रमशः पेरु र चिली छन् ।