३० भदौ, काठमाडौँ । सरकारले लामो दुरीको सवारीसाधनहरु असोज १ गतेदेखि नै सञ्चालन गर्न अनुमति दिएको छ । मन्त्रिपरिषद् बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप यातायात सञ्चालन गर्नका लागि अनुमति दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को निर्णय सुनाउँदै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यातायात व्यवसायीले अहिलेको भाडादरमा ५० प्रतिशत सम्म बढी भाडा लिन पाउने बताए । यसरी यातायात सञ्चालन गर्दा भने सवारीको एक लहरको सिटमा एक जना मात्र यात्रु अर्थात सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्नु पर्नेछ ।
यातायात सञ्चालन गर्दा पूर्ण रुपमा सरकारले जारी गरेका स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्नुका साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले निर्दिष्ट गरेको मापदण्ड समेत अवलम्बन गर्नुपर्नेछ ।
सवारी सञ्चालनका लागि गाडीको ढोका र गाडीभित्र अनिवार्य स्यानीटाइजर राख्नुपर्नेछ भने सवारी भित्र अनिवार्य मास्क लगाउनु पर्नेछ ।